५ बर्षपछि निर्माता रोज राणाले नयाँ चलचित्र निर्माण गरेका छन्, ‘जय परशुराम’ । हो यो चलचित्रलाई रोज राणाले पहिलो पटक निर्देशन गरेका हुन् भने उनले नै चलचित्र निर्माण गरेका हुन् । वुधबार चलचित्र ‘जय परशुराम’को ट्रेलर र गीत सार्वजनिक कार्यक्रममा एउटा राम्रै बहस भयो त्यो भने चलचित्रको ट्रेलरमा विराज भट्टलाई सुपरस्टार भन्नु ठिक थियो वा थिएन । ५ बर्षसम्म भोजपुरी चलचित्रमा काम गरेपछि नेपाली चलचित्र ‘जय परशुराम’मा अभिनय गरेका विराज भट्टलाई चलचित्र ‘जय परशुराम’को ट्रेलर र टिजरमा सुपरस्टार भनेर लेखिएको छ । कुनै समय नेपाली चलचित्रका एक्शन नायक विराज भट्टलाई सुपरस्टार भनेर यसअघि कुनै पनि चलचित्रमा सम्बोधन गरिएको थिइन तर ५ बर्षपछि नेपाली चलचित्रमा फर्किएका विराजलाई सुपरस्टार भन्नु धेरैले अनौठो मानिरहेका छन् । लगातार सफल चलचित्र दिँदा दिँदै भोजपुरी चलचित्रमा लागेपछि उनले अभिनय गरेका करिब ४० चलचित्र प्रदर्शनमा आए । उनले आफ्नो प्रदर्शनमा आउन लागेको ४० चलचित्र छोड्दै भोजपुरीमा लागे त्यसपछि उनी फर्किने सम्भावना निकै न्यून देखिएको थियो । यही कुरा उठ्यो चलचित्र जय परशुरामको ट्रेलर र गीत सार्वजनिक कार्यक्रममा । पत्रकारहरुले विराजलाई ‘५ बर्षपछि नेपाली चलचित्रमा फर्कदा अहिलेको नेपाली चलचित्र बजारमा कस्तो स्थानमा रहेछ भन्ने लाग्यो ?’ प्रश्नमा विराजले उत्तर दिँदै भने -‘अहिले धेरै परिवर्तन भइसकेको छ । मैले भोजपुरी चलचित्रमा काम गर्न थाल्दा अहिलेको जस्तो विजनेस नेपाली चलचित्रले गर्दैन थिए तर अहिले चलचित्रको विजनेस पहिलाको भन्दा निकै उच्च रहने गरेको मैले बुझेको छु । म ५ बर्ष अगाडी भोजपुरी चलचित्रमा जाँदा पनि मसँग धेरै नेपाली चलचित्र थिए तर ४० भन्दा बढि नेपाली चलचित्र प्रदर्शनमा आउन बाँकी रहेका कारण म भोजपुरी तिर लागे ।’ उनले अगाडी थप्दै भने -‘म भोजपुरी चलचित्रमा लाग्दा पनि २ बर्षसम्म मैले अभिनय गरेको नेपाली चलचित्र प्रदर्शनमा आएको थियो त्यसपछि मैले पुन नेपाली चलचित्र काम गर्ने मनसाय बनाएको थिए तर मैले राम्रो चलचित्र भेटिन र समय पनि मिलाउन गाह्रो भयो ।’ उनले चलचित्र ‘जय परशुराम’ आफ्नो कमब्याक चलचित्र भएपनि नेपाली स्वाद बोकेको बताए । उनले यसो भन्दै गर्दा ‘विराजलाई ट्रेलरमा सुपरस्टार भनेर लेख्नु ठिक थियो त ?’ भनेर पत्रकारले निर्देशक एवं निर्माता रोज राणालाई प्रश्न तर्साए र रोजले उत्तर दिँदै भने -‘हामीले विराजलाई सुपरस्टार भनेर गल्ती गरेका छैनौ । जति बेला नेपाली चलचित्र धरासायी अबस्थामा थियो त्यति बेला विराजको खाँचो थियो र विराजले त्यो खाँचाो पुरा पनि गरे । त्यति बेला विराजलाई दर्शकहरुले नै भनेका हुन् ‘सुपरस्टार’ । तर ५ बर्ष विराज भोजपुरी चलचित्रमा लाग्दा उनलाई सुपरस्टार भन्नु गलत कसरी भयो ?’ उनले विराजको क्रेज अहिलेपनि नेपालमा उतिक्कै रहेको दाबी पनि गरे । विराजको कमब्याक चलचित्र भएका कारण पनि चलचित्र ‘जय परशुराम’लाई यति बेला प्रतिक्षित चलचित्र बनेको छ ।